कपिलवस्तुमा चोरीको मोटरसाइकल ‘काटेर गायब’ बनाउने खेल पर्दाफास

कपिलवस्तुमा चोरीको मोटरसाइकल ‘काटेर गायब’ बनाउने खेल पर्दाफास

कपिलवस्तु, साउन २१ गते। कपिलवस्तुमा चोरी भएको मोटरसाइकललाई चिनिन नसक्ने गरी टुक्राटुक्रा पारी लुकाइएको रहस्यमय घटनाको प्रहरीले पर्दाफास गरेको छ। मङ्गलबार दिउँसो उद्योग परिसरबाट चोरी भएको स्प्लेन्डर प्लस मोटरसाइकल बिहीबार वर्कशपबाट काटेर पाटपुर्जा अलग–अलग पारिएको अवस्थामा बरामद भएपछि घटनाले सनसनी मच्चाएको छ।

कपिलवस्तु नगरपालिका–१ भिक्षु चोकस्थित राहुल आइसक्रिम तथा सिल्ली बरफ उद्योगबाट मङ्गलबार दिउँसो करिब ३:३० बजे चोरी भएको लु १७ प ८७८ नम्बरको स्प्लेन्डर प्लस मोटरसाइकल कपिलवस्तु नगरपालिका–१ बसपार्क चोक नजिक रहेको तौलन मोटरसाइकल वर्कशपबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलका अधिकांश पाटपुर्जा काटेर घर र वर्कशपभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको हो। चोरीपछि मोटरसाइकललाई पहिचान गर्न कठिन हुने गरी भाग–भागमा विभाजन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामतौलन कान्दु र सीताराम कान्दुलाई पक्राउ गरेको छ। पक्राउ परेका रामतौलनले आफ्ना छोरा चैतु कान्दु पनि घटनामा संलग्न रहेको बताएका छन्।

चोरी भएको मोटरसाइकलबारे सूचना दिने व्यक्तिलाई उद्योगका सञ्चालकले रु. १० हजार नगद पुरस्कार दिने घोषणा गरेका थिए। प्रहरीको अनुसन्धानपछि मोटरसाइकल फेला परे पनि त्यसलाई टुक्राटुक्रा पारिएको अवस्थाले चोरीको संगठित शैलीबारे थप आशंका उत्पन्न गरेको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010