हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो पूर्ण विस्तारित बैठक तथा तीनमहिने वडा केन्द्रित अभियानको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। बैठकले पार्टीका गतिविधिहरूलाई घर-घरमा पु¥याउने, जनताको समस्या संकलन गरी सम्बन्धित निकायमा लैजाने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ।
नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालले बैठकमा संगठन सुदृढीकरण, विकास निर्माण, जनअपेक्षाका विषयमा छलफल भएको जानकारी गराउनुभयो। तीनमहिने अभियानअन्तर्गत वडा कमिटी पुनर्गठन, प्रशिक्षण, जनसंगठन निर्माण, अनुगमन, तथा समस्या संकलनलगायतका कार्य प्राथमिकतामा रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले एमालेले जितेका वडाहरूको विकास निर्माणको समीक्षा गर्दै पार्टी संगठनलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो। उहाँले पार्टी सदस्यहरूलाई टोलदेखि जिल्ला कमिटीसम्म संगठित गर्नुपर्नेमा जोड दिनुभयो।
जिल्ला अध्यक्ष बाबुराम खनालले सूचनाप्रविधिसँगै अघि बढ्ने आवश्यकतामाथि प्रकाश पार्दै वडा केन्द्रित अभियानले पार्टीविरुद्ध फैलाइएका नकारात्मक सन्देश चिर्न मद्दत गर्ने बताउनुभयो। प्रदेश कमिटी सदस्य डम्मर शर्माले जरा अभियानबारे जानकारी गराउँदै सबै सदस्यहरूको भूमिकालाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।
नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न बैठक उपसचिव जगतराज रेग्मीको स्वागत मन्तव्य तथा सचिव चेतनारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो। प्रेस चौतारी नेपाल बाणगंगा नगर समितिले बैठकबारे जानकारी गराएको छ।

