कपिलवस्तु, कार्तिक १५ – बाणगंगा नगरपालिका ३ भक्तौलीका युवा किसान नारायण अर्यालले फूल खेतीमा उल्लेखनीय सफलता हासिल गरेका छन्। तीन वर्षअघि धानको खेती छोडेर फुल खेतीमा ध्यान दिन थालेका अर्यालले पाँच कट्ठामा लगाइएका सयपत्री फूलका ३ हजार बेर्ना रोपेका छन्।
उहाँले ५५५ जातको मेरी गोल्ड सयपत्री फूलको खेती गर्नुभएको हो, जसको प्रति बेर्ना १२ रुपैयाँको दरमा खरिद गरिएको थियो। साउनको अन्तिम साता रोपिएका बेर्नाले कात्तिकको पहिलो हप्ताबाट उत्पादन दिन थालेका छन्।
नारायणले तिहार र बिहेको सिजनलाई लक्षित गर्दै फूल खेती गर्नुभएको बताउँदै भन्नुभयो, “फुल खेती गर्न रहर थियो। नेपालमा भारतबाट फुल आयात हुने समाचार पढेपछि फुल खेतीतर्फ आकर्षण बढ्यो।”
उहाँले हरेक दुई दिनको अन्तरमा फूल टिप्ने काम गरिरहनु भएको छ। हरेक हप्ता ३ हजार माला बुनेर बजारमा पठाइरहनु भएको छ। हाल बजारमा फूलको अभाव रहेको कारणले गर्दा मालाको माग पनि बढेको छ। कपिलवस्तुका बजारमा सयपत्री फूलको माला १५० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ।
नारायण अर्यालको मेहनत र लगनशीलताले उनलाई फुल खेतीमा सफलता दिलाएको छ, र उहाँको यो प्रयासले अन्य युवाहरूलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

