बाख्रा पाल्ने रहरबाट व्यवसायी बन्दै

Advertisement

कपिलवस्तु कार्तिक १ गते ।
कपिलवस्तु बाणगंगाका ढाल बहादुर बुढाले रहर लागेर २ ओटा बाख्रा पाल्थे । बागलुङबाट ३ दशक अगाडी बाणगंगा नगरपालिका वडा नं. ९ भर्तापुर बसाइसराइ गरेका बुढाले चाडपर्वमा मासुका लागी बाख्रा पाल्थे । रहरले बाख्रा पालेका बुढालाई २०७४ सालमा साना किसान सहकारी संस्था भलवाडबाट व्यवसायीकरुपले बाख्रा पाल्न प्रस्ताव आयो ।
२०७४ सालमा सहकारीबाट २ लाख कर्जा लिनु भयो । बाख्रा पाल्ने रहरलाई व्यवसायको रूपमा सञ्चालन गर्नु भयो । बुढाले २०७५ सालमा फर्म दर्ता गर्नु भयो । २० लाख लगानी गरी ३८ ओटा माउ र २ ओटा उन्नत जातको बोका खरिद र खोर निर्माण गर्नु भएको थियो । खरी, जमुनापारि जातका बाख्रा पालन गरी उहाँले एउटै वर्षमा ६ लाख सम्म बचत भएको बताउनु हुन्छ ।
यो सिजनमा १५० ओटा सम्म बाख्रा पालेको थिए चाडपर्वमा बिक्री भई अहिले माउ र पाठा पाठी गरी ५० ओटा रहेका छन् । बुढाले स्थानीय सरकार र पशु विज्ञ केन्द्रबाट खोर मर्मत ३ लाख ५० हजार दाना बनाउने मिसिन, र बाख्रा जोख्ने तराजु ५० प्रतिशत अनुदानमा खरिद गर्नु भएको थियो ।
त्यस्तै, बाणगंगा नगरपालिका–१० की पदमा लामिछानेले पनि बाख्रा पालनबाट राम्रो आम्दानी गर्नु भएको छ । ६ वर्षअघि २ ओटा माउ बाख्राबाट सुरु गरेकी लामिछानेको बाख्रा सङ्ख्या अहिले ५५ ओटा पुगेको छ । उहाँले पनि सहकारीबाट १० लाख रुपैयाँ ऋण लिएर खोर निर्माण र उन्नत जातको बोका खरिद गरेकी हुन् । श्रीमान् विदेश हुनु हुन्छ बाख्रा चराउन घरका सदस्य सहयोग गर्दै आएका छन् । ग्रामीण बस्तीमा भएको कारणले बाख्रा बिरामी हुँदा उपचार गर्न समस्या पर्ने गरेको बताउनु हुन्छ ।
कपिलवस्तुका ग्रामीण क्षेत्र विशेष गरी वन क्षेत्र नजिकका बस्तीहरूमा बाख्रा पालन व्यवसायप्रति चासो बढ्दै गएको छ । अहिले जिल्लामा जिउँदो बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ रहेको छ, जसले गर्दा बाख्रा पालन किसानका लागि आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार