जानु पाण्डे
कपिलवस्तु फागुन २३ गते । तराईका वन क्षेत्रमा इजिप्सियन (सेतो) गिद्धको गुँड नदेखिँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । गिद्धको सानो प्रजाति सेतो गिद्धको गुँड पछिल्ला दुई तिन वर्ष यता तराई क्षेत्रमा नदेखिँदा अध्ययन अनुसन्धानमा जोड दिनु पर्ने गिद्ध अनुसन्धानकर्ता तथा पन्छी विज्ञ कृष्ण भुसालले बताउनु भयो ।
नेपालमा पोखरा र तनहुँ क्षेत्र सेतो गिद्धको प्रमुख बास स्थान हो । नवलपरासी, रुपन्देही, दाङ र कैलाली जिल्लामा यसले गुँड लगाएर बच्चा कोरलेको अभिलेख रहको थियो । तर पछिल्लो तिन वर्ष यता सेतो गिद्धको गुँड नदेखिएको गिद्धको गुँड अवलोकनकर्ता तथा नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड वायोलोजिस्ट दिलीप चन्द ठकुरीले बताउनु हुन्छ ।
नेपालमा १ हजारको हाराहारीमा सेतो गिद्ध रहेको अनुमान गरिएको छ । तर यसको अध्ययन र अनुसन्धान न्यून रहेको छ । पोखराको निर्मल पोखरी, पुरानो ल्याण्डफिल्ड साइट वरिपरि बढी सङ्ख्यामा सेतो गिद्ध देखिने गरेको छ । गुँड नदेखिए पनि जटायु रेस्टुरेन्ट, तथा तराईका वन क्षेत्रमा सानो सङ्ख्याका सेतो गिद्ध देखिने गरेको छ ।
पन्छी विज्ञ भुसालले बताउनु हुन्छ ‘अरू गिद्धको तुलनामा यसको अध्ययन र संरक्षणका काम न्यून छ । जसले गर्दा अनुगमन र संरक्षणमा जोड दिनु पर्छ । सानो जीउ हुँदा ठुला गिद्धसँग जुधेर सिनो खोस्न सक्दैन । त्यसैले अन्य गिद्धले खाएर बचेको सिनोका स–साना टुक्राहरू खाने गर्दछ । यसले जैविक फोहरका अवशेष र त्यहाँ उत्पन्न भएका किराहरूलाई समेत आहारा बनाउने गर्दछ ।’
सेतो गिद्ध आइयुसिएनको सङ्कटापन्न प्रजातिको सूचिमा सूचिकृत रहेको छ । नेपालको मध्य पहाडी क्षेत्रमा पहरामा र तराई क्षेत्रमा अग्ला रुखमा गुँड बनाउँछ । पश्चिम नेपालको मध्य पहाडमा सजिलै देखिने दुर्लभ सेतो गिद्धको तराईमा भने छिटपुट मात्र अभिलेख छ । नेपालमा पाइने सेतो गिद्धको करिब ७० प्रतिशत सङ्ख्या पोखरा उपत्यकामा पाइने अनुसन्धानकर्ता भुसालले बताउनु हुन्छ ।
नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये डंगर, सानो खैरो, सुन, सेतो, हिमाली र हाड फोर गिद्ध नेपालमा बच्चा कोरल्छन् । राज गिद्ध, खैरो गिद्ध, हिउँदे बटुवा र लामो ठुँडे गिद्ध आगन्तुक रहेका छन् । । गिद्धले मरेका जनावरको सिनो खाएर वातावरण सफा गरी प्रदूषण हुनबाट जोगाउने भएको प्रकृतिको कुचीकार मानिँदै आएको छ ।

