बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी
म्याग्दी । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली ९कौसी० । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ । गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन्…
